चुलाचुलीलाई ४ अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान

दमक/ कोरोना संक्रमितहरुलाई उपचारको लागि अभावका रुपमा रहेको अक्सिजन सिलिण्डरसहित इलामको चुलाचुली गाउँपालिकालाई आज विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

सो सामाग्री भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर प्रमुख सुरेन्द्र दाहालले प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईलाई सो सामाग्री प्रदान गर्नु भएको हो ।

अमेरिकामा रहेको ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनका तर्फबाट सो अर्गनाइजेशनका अध्यक्ष कमल धिमालले पठाएका ती सामाग्री एक कार्यक्रमकाविच शिविरको कार्यालयबाट शिविर प्रमुख दाहालले प्रदान गर्नु भएको हो ।

चुलाचुलीलाई प्रदान गरिएका सामाग्रीमा ४ ओटा अक्सिजन सिलिण्डर, ४ ओटा अक्सिजन रेगुलेटर, २० ओटा सिराने सहित बेडसीट, एक अक्सिमिटर, १० लिटर सेनिटाइजर, एक हजार ओटा सर्जिकल मास्क र २० ओटा केएन ९५ मास्क छन् ।

No description available.

सहयोग हस्तान्तरण कार्यक्रममा शिविर व्यवस्थापन समितिका सल्लाहकार टिआर कालिकोटे लगायतको उपस्थिति रहेको थियो । ति सामाग्रीहरु कोरोना संक्रमित भुटानी शरणार्थी तथा शरणार्थी आसपासका संक्रमितहरुको उपचारमा सहयोग गर्ने उदेश्यले प्रदान गरिएको शिविर प्रमुख दाहालले जानकारी दिनुभयो ।

२०७८, जेठ २४

शिविर प्रमुखद्धारा दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

उत्तम रिजाल, दमक/ कोरोना भाइरस संक्रमितले अक्सिजन अभाबमा मृत्युबरण गरिरहेको अबस्थामा झापाको दमक स्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको छ ।

वहाँले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३ ओटा र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताउनु भयो । त्यस्तै शिविर सचिव कृष्ण सुब्बाले शिविर भित्रका कोहिपनि संक्रमित भए उनीहरुलाई उपचार गर्न तथा शिविर बाहिरका अन्य संक्रमितको उपचारमा अक्सिजनको अभाब हुन नदिन दाताबाट प्राप्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।

सोक्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ । त्यस्तै मिक्लाजुङ्गलाई सिराने सहितको ३० बेड सीट र दमकलाई २० बेड सीट तथा एक/एक हजार सर्जिकल मास्क, २०/२० ओटा केएन ९५ मास्क प्रदान गर्नुभयो । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।

ती स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो । सो सहयोग ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनको तर्फबाट अध्यक्ष कमल धिमालले पठाएका थिए । उनी अमेरिकामा बस्दै आएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध मोर्चाबन्दी

काठमाडौं / पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध आइतबार सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा शुक्रबार बुझाइएको दाबी पत्रमा हस्ताक्षर गरेका १ सय ४९ जनाकै तर्फबाट रिट हाल्ने तयारी गठबन्धनको छ । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको खनाल–नेपाल पक्षका २६, जनता समाजवादी पार्टीको यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका १ जना छन्, जुन विघटित प्रतिनिधिसभामा कायम २ सय ७१ सदस्यको बहुमत अर्थात् ५५ प्रतिशत हो । हस्ताक्षर गरेका सबैलाई आइतबार दिउँसो

१ बजे नागरिकताको प्रमाणपत्रसहित संसद् भवनमा उपस्थित हुन आग्रह गरिएको छ । उनीहरूको नागरिकताको प्रमाणपत्रसहित रिट हाल्दा असंवैधानिक कदम सच्याउन अदालतलाई बल पुग्ने ठम्याइ गठबन्धनको छ ।

कोरोना महामारीका बेला सडकमा आउने अवस्था नभएपछि गठबन्धनका दलले भर्चुअल र अन्य माध्यमबाट राजनीतिक प्रतिवादमा उत्रन आ–आफ्नो पार्टी पंक्तिलाई आह्वानसमेत गरेका छन् । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यविरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रूपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं,’ गठबन्धनको बैठकपछि कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

२०७८, जेठ ७

दमक नगरपालिकाले गर्याे यस्ताे कडा निर्णय : जेठ १ गते बाट पुरै ठप्प

दमक, / दमक नगरपालिकामा अाज बसेकाे बैठकले जेठ १ गतेदेखि लकडाउन गर्ने निर्णय गरेकाे छ ।

बैँक ,सहकारी र वितिय संस्था हप्तामा २ दिन अाईतबार र बुधबार मात्र खुल्ने  दुध, अण्डा बिक्री गर्ने पसल बिहान ५ बजे देखि ८ बजे सम्म मात्र खुल्न पाउने बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

आज दमक नगरपालिकामा बसेको नगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले यातायत, पसल बन्द गर्ने निर्णय भएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेले संक्रमणको दर अत्याधिक उच्च भएपछी नगरपालिका क्षेत्रभित्र कडाईका साथ लकडाउन गर्ने निर्णय भएको बताए । अब अत्यावश्यक, एम्बुलेन्स, प्रेस बाहेकका अरु यातायातका साधन, बजार, तरकारी पसलसम्म बन्द हुनेछन्, उनले भने, प्रभावकारी रुपमा बन्दाबन्दी कार्यान्वयन हुने छ ।

दमकमा निषेधाज्ञा अवज्ञाको क्रम बढेसँगै स्थानीय सरकारले प्रभावकारी रुपमा बन्द गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिक स्वयं सचेत नभइ संक्रमण नियन्त्रण गर्न कठिन भएको बताए । उनका अनुसार दमकमा जेठ १ देखि ७ सम्म पूर्ण रुपमा बन्द हुने छ ।

नेपाल समूहले दियो ओलीलाई थप १३ घण्टा समय

काठमाडौं / नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् ।

पीसीआर परिक्षण अब ५ सय रुपैयाँमा घरमै

काठमाडौं / सरकारले कोरोनाभाइरसको जोखिम भएका स्थानको घर-घरमै पुगेर अबदेखि पीसीआर परीक्षण गर्ने भएको छ । यसका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ पनि लिने भएको छ ।

बुधबार बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जोखिम देखिएका स्थानमा घरमै पुगेर पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जागेश्वर गौतमले जोखिम स्थानमा सघनरुपमा कन्ट्याक्ट ट्रेसिङ गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय समेत भएको जनाए ।

उनका अनुसार बुधबारसम्म कोरोनाको उपचारमा प्रयोग हुने १ लाख २५ हजार भाइल रेमडेसिभिर औषधी प्राप्त भएको छ । बुधबार ३ हजार भाइल थप आएको र थप ४ हजार भोलीसम्म आइपुग्ने पनि उनले जानकारी दिए ।

झापामा निषेधाज्ञामा थप कडाई

झापा / झापामा अाजबाट निषेधाज्ञालाई थप कडा पारिएको छ ।

यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि अाजबाट समय तोकिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र झापाको बैठकले निर्माण सामग्री बोकेका टिप्पर तथा ट्र्याक्टर लगायतलाई बिहान ६ बजेदखि १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।
एम्बुलेन्स, शव बाहन लगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय भएको छ ।


 

दमककी एक सुत्केरी महिलाकाे काेराेनाका कारण मृत्यु

दमक /झापा दमक ३ निवसी ३३ बर्षिया एक सुत्केरी महिलाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

मृतक महिला अाठ दिनकी सुत्केरी हुन् उनमा काेराेना संक्रमण देखिएकाे र उनकाे उपचारका क्रममा अाज बिहान कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ । यस अघि बिहिबार दमक २ का ५२ बर्षिय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो । गएराती गौरादह ४ की एक महिलाको पनि दमकस्थित एडभान्स अस्पतालमा मृत्यु भएको थियो ।

मोरङमा शुक्रबार राति बाट निषेधाज्ञा जारी

विराटनगर / मोरङमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेकाे हाे । शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गते राति १२ बजे सम्मका निषेधाज्ञा लागु हुने छ ।

बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई बढाएर जिल्लाभर लागु गर्ने निर्णय गरेको हाे ।