शिविर प्रमुखद्धारा दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

उत्तम रिजाल, दमक/ कोरोना भाइरस संक्रमितले अक्सिजन अभाबमा मृत्युबरण गरिरहेको अबस्थामा झापाको दमक स्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको छ ।

वहाँले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३ ओटा र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताउनु भयो । त्यस्तै शिविर सचिव कृष्ण सुब्बाले शिविर भित्रका कोहिपनि संक्रमित भए उनीहरुलाई उपचार गर्न तथा शिविर बाहिरका अन्य संक्रमितको उपचारमा अक्सिजनको अभाब हुन नदिन दाताबाट प्राप्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।

सोक्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ । त्यस्तै मिक्लाजुङ्गलाई सिराने सहितको ३० बेड सीट र दमकलाई २० बेड सीट तथा एक/एक हजार सर्जिकल मास्क, २०/२० ओटा केएन ९५ मास्क प्रदान गर्नुभयो । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।

ती स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो । सो सहयोग ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनको तर्फबाट अध्यक्ष कमल धिमालले पठाएका थिए । उनी अमेरिकामा बस्दै आएका छन् ।

Facebook Comments Box

                     

अरुपनि