माेटरसाईकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

सिन्धुली / सिन्धुलीमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुधौली नगरपालिका ४ डकाहाका २६ वर्षीय यम कुमर दनुवार, १३ वर्षीय आशिष कुमर दनुवार र ९ वर्षीय आदित कुमर दनुवार रहेको प्रहरीले जनाएको हो ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोज कुमार लामाले बताए ।

आशिष र आदित यम कुमर दनुवारका भतिजहरु हुन् । ‘यम कुमर दनुवार र आशिष दनुवारको घटनास्थलमै मृत्यु भएको हो भने आदित कुमर दनुवारको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,’ लामाले भने ।

यम कुमर दनुवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान हुन् । एउटै मोटरसाइकलमा सवार तीनै जना सिन्धुलीको भिमानबाट डकाहतर्फ जाँदै थिए । मृतक यम र आशिषको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको प्रवक्ता लामाले जानकारी दिए । मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि