सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३० औं वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए।

उनले भने, ‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ। कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरूरी छ।’

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका संकेत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयावह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे।

‘महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खुला सीमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो’, उनले भने।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए।

उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिए। पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो। रासस

Facebook Comments Box

                     

अरुपनि