माेरङकाे सुन्दर हरैंचामा शंकास्पद शव फेला

मोरङ / मोरङको सुन्दरहरैँचामा अाज बिहान शंकास्पद मृत्यु भएको अवस्थामा एक युवाको शव भेटिएको छ ।

सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलाको पानीभित्र भेटिएको हो । उनको शव खोलाको पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले अाज बिहान ६ः३० बजेतिर प्रहरीलाई खवर गरेका हुन् । भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जनाए ।

मृत फेला परेका सुरजले जिन्स प्वाइन्ट, टी–सर्ट र चप्पल लगाएका छन् । घटना स्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ । पुलमा लडिरहेको अवस्थामा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको छ ।

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ ।

डीएसपी राईका अनुसार मोटरसाइकलमा पश्चिमतर्फ जाँदै गर्दा दुर्घटना भएजस्तो देखिन्छ । तर मोटरसाइकलका धनी २२ वर्षीय राजेश चौधरी भने फरार रहेका कारण घटना यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि