लिपुलेक, कालापानी नेपालको हो’ राष्ट्रका लागि युवाद्वारा हस्ताक्षर अभियान सुरु

काठमाडौं / राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरी सञ्चालन गरिने आयोजकले जनाएको छ ।

मंगलबार काठमाडौंंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराइएको छ । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यै देखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

८ देखि दश लाख हस्ताक्षर संकलन भइसके पछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ ।

हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो । कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियान्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, सामाजिक अभियन्ता रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठक लगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए ।

उनीहरुले नेपालको आफ्नो भू–भाग जसरी पनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । आजको कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि