सवारी दुर्घटनाबाट दैनिक ७ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक

मकवानपुर / प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयको आयोजनामा शुक्रबार हेटौंडामा ‘सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धि एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको सम्मेलन’ आयोजना गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि प्रदेश ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले सवारी दुर्घटना बढ्नुको कारण चेतनाको कमी र नियम उलंघन नै रहेकाले यसका लागि प्रदेश सरकारले स्थानीय स्तरबाटै विद्यालय शिक्षामा ट्राफिक शिक्षाको पाठ्यक्रम राख्ने योजनामा रहेको बताएका छन् ।

मन्त्री जमरकट्टेलले सवारी चलाउनका लागि कुनै निश्चित शैक्षिक योग्यता भएका लाई मात्रै अनुमति दिनु पर्ने धारणा व्यक्त गरेका छन् । नविकरण नभएका र बीमा नगरिएका सवारीलाई पूर्णतया रोक लगाउनु पर्ने मन्त्री जमरकट्टेलको भनाई रहेको थियो ।

सम्मेलनमा मकवानपुरका जिलला समन्वय समितिका सभापति रघुनाथ खुलालले सवारी दुर्घटना कमी गर्न आफैबाट सवारी नियम लागू गर्नु पर्ने भनाई रहेको थियो ।

सम्मेलनमा प्रदेश ३ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनराज राईले काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक प्रदेश ३ का अन्य १० जिल्लाका ट्राफिक प्रहरी प्रमुखसहितको पालमा हाल दैनिक ७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको र उपत्यकाको ३ जिल्ला बाहेक प्रदेश ३ का अन्य १० जिल्लामा मासिक ४४ जनाले सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

१० जिल्लामा सवारी व्यवस्थापनका लागि २ सय ४४ ट्राफिक प्रहरी परिचालन भईरहेको प्रहरी उपरीक्षक राईले जानकारी दिएका थिए । काठमाडौं उपत्यका बाहेक प्रदेश ३ का अन्य १० जिल्लामा ११ हजार १ सय १ किमि सडकमा सवारी साधन गुड्ने गरेको र एकजना ट्राफिक प्रहरीले २ सय ६१ वटा सवारीको नियमन गर्नु परिरहेको प्रहरी उपरीक्षक राईको भनाई रहेको थियो ।

प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाको ३ जिल्ला बाहेक अन्य १० जिल्लाबाट आर्थिक बर्ष ०७५/०७६ को जेष्ठ अन्तिम सम्म १ लाख ७७ हजार ६ सय २२ सवारी कार्वाहीमा परेका छन् भने ट्राफिक प्रहरीले यस अवधिमा ११ करोड ९४ लाख ६२ हजार ५ सय रुपैया राजश्व संकलन गरेको जनाएको छ ।

सम्मेलनमा प्रदेश ३ प्रहरी प्रमुख, शेरबहादुर बस्नेत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पोषण थापा, यातायात व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हाल विश्वमा सवारी साधनको संख्या बढेसँगै प्रति २५ सेकेण्डमा १ जनाको सवारी दुर्घटनाकै कारण ज्यान जाने गरेको छ ।

Facebook Comments Box

                     

अरुपनि