नेपालमा भित्रिने मनसुनकाे यस्तो छ मौसम विभागको जानकारी

काठमाडौं / उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ ।

मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीन दिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पुर्‍याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।

नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । ‘मनसुन आउने क्रममा छ,’ मौसमविद मन्जु बासीले भने, ‘मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।’ मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन ।

प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा शुरू हुन्छ । ‘अझ चार दिनजति लाग्छ नेपालमा मनसुन आउन,’ अर्का मौसमविद् समिर श्रेष्ठले थपे, ‘शुरूमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।’

उनका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलंका पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताए ।

‘यसबेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ,’ श्रेष्ठले थपे, ‘त्यस स्थानमा भारतको मध्यक्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बंगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।’ जलवाष्पयुक्त उच्चचापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिने गर्छ ।

यसवर्ष पूर्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यसवर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १, २, ३, ४ र ५ मा वर्षा कम हुन सक्छ । त्यही अनुसार किसानलाई जानकारी दिने तयारी भइरहेको नार्क स्थित कृषि वातावरण विभागका कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिए ।

‘यतिबेला धानको बिउ राख्ने बेला हो,’ उनले थपे, ‘मनसुनको आगमनको संकेतसँगै बिउ राख्न भनिएको छ । कुलो भएका स्थानका किसानले बिउ उमारिसकेका छन् ।’

Facebook Comments Box

                     

अरुपनि