चालकदल सहित ७७ यात्रुको ज्यान बचाएपछि सिनियर क्याप्टेन आङ्गेलु शेर्पा बने ‘रियल हिरो :

काडमाण्डाै / बुद्ध एयरकाे जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा अहिले चर्चामा आएका छन् । आइतवार विहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको थियो । यात्रुसहित काठमाडौं फर्केको जहाजले काठमाडौंको आकाशमा पनि झण्डै दुई घण्टासम्म १० पटक फन्को मारेको थियो ।सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाउनुभएको थियो । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । जहाजमा भरिएको इन्धन कम गर्ने उदेश्यले धेरैपटक आकाशमा फन्को मारेपछि अनभुवी क्याप्टेन शेर्पाले निकै कुशलतापूर्वक जहाजलाई त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराउनुभएको थियो । जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् भने अधिकांश यात्रु विराटनगरका लागि अर्को जहाजमा उडेका छन् । बाँकी १७ जनालाई बुधवार उडाउने बुद्ध एयरले जनाएको छ ।
ठूलो संकटको भूमरीमा फसिसकेको जहाज र त्यसमा सवार यात्रुहरुलाई सकुशल अवतरण गर्ने सिनियर क्याप्टेन शेर्पाको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । सामाजिक सञ्जालमा धेरैले अहिले उहाँलाई रियल हिरोको उपमासहित धन्यवाद दिएका छन् ।

Facebook Comments Box

                     

अरुपनि