बलात्कृत कृष्णमायाले अहिलेसम्म न्याय नपाएको भन्दै मिडियामा, पीडकसँग आधा सम्पत्ति माग

काठमाडौं, २० फागुन / झापा जिल्ला स्थित कनकाई नगरपालिका–३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले न्यायको माग गरेकी छिन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उप्रतीले अझैसम्म पनि आफूले न्याय नपाएको भन्दै मिडियामार्फत न्याय मागेकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै पीडित उप्रेतीले आफू घरमै भएको समयमा विवाहित पुरुषबाट बलात्कृत भएको बताइन् ।

उनले भनिन्, ‘आजसम्म मैले न्याय पाएको छैन् ।’ उनले बलात्कारपछि ती पुरुष फरार भएपनि अहिले भने जेलमा रहेको जानकारी दिइन् । उनले हालसम्म क्षतिपूर्ति बापत ३५ हजार रुपैयाँमात्र समाज कल्याण परिषद्बाट लिएको जनाइन् ।

उनले भनिन्, ‘मलाई उसको आधा सम्पत्ति दिनुपर्छ ।’ अदालतले समयमा न्यायको कदम नचालेर आफ्नो कुरा राख्न नदिएको समेत गुनासो गरिन् । पीडित उप्रेतीले न्यायको लागि धेरै ठाउँमा गएपनि कतैबाट न्याय नपाएको उल्लेख गर्दै अहिले सर्वोच्चमा आधा सम्पत्ति पाउँ भनि मुद्दा दिएको बताइन् ।

उनले आफ्नो गोपनियता कायम राख्दै ७ वर्ष बित्दापनि कुनै अदालतमा गएर म पीडित भनेर बोल्न नपाएको दुःखेसो पोखिन् । न्यायालयले दिएको न्यायमा चित्त नबुझेको भन्दै उनले भनिन्, ‘मेरो अवस्थालाई हेरेर न्यायालयले मलाई न्याय दिन सकेन् ।’

न्याय दिन नसकेपनि अदालतले ढोका बन्द गरेर न्याय दिइसकेको भनेर कुनै पनि अदालत जानै नपाउने गरेको निर्णयले आफू झन अन्यायमा परेको बताइन् । उनले बलात्कारबाट पीडित महिलाले पीडकको आधा अंश पाउने व्यवस्था भएकोले सोहीअनुरुप माग गरेको पनि कार्यक्रममा स्पष्ट पारिन् ।

‘कानूनले व्यवस्था गरे अनुसार मलाई आधा सम्पत्ति दिनुपर्छ’ उनले भनिन्, ‘म अविवाहित महिला हुँ, आज उसकै आधारले मेरो जिन्दगी बर्वादी भएको छ ।’

अपराधी बेपत्ता भएको भन्दै अदालत पन्छिएपछि काठमाडौं आएर अनुसन्धान ब्यूरोमार्फत् आँफैले पीडकलाई पक्राउ गर्न सफल भएको पनि उनले जानकारी दिइन् ।

उनले अदालतले यसअघि गरेकोे झुटो फैसला हो भन्दै ‘अब सर्वोच्च अदालतले त्यस्तो खालको त्रुटिपूर्ण फैसला नगरोस्’ भन्ने आग्रह गरिन् । उनले भनिन्, ‘सबै कुराको अनुसन्धान गरेर मात्र फैसला गरोस् ।’ news24 Nepal बाट साभार

Facebook Comments Box

                     

अरुपनि