शिवसताक्षी मेयर कप फुट्बलमा वडा नम्बर ४ विजयी

उत्तम रिजाल,दमक  झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगितामा वडा नम्बर ४ ले विजयी शुरुवात गरेको छ । उसले वडा नम्बर ५ लाई ४–२ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । उसले दुई शुन्यले पछिपरेको अबस्था उल्टाउँदै जित हात पारेको हो ।

वडा नम्बर ४ को जितमा पासाङ्ग लामा, श्याम खत्री, कुमार तामाङ्ग र अरुण ताजपुरीयाले गोल गरे । उता पराजित वडा नम्बर ५ का लागि सुमन फागो र आशिष ठकुरीले गोल गरेका थिए । पहिलो हाफको २० औं मिनेट सम्म दुई शुन्यको अग्रता लिएको वडा नम्बर ५ ले त्यसपछि लय गुमाउन पुग्दा खेलमा पराजय भोग्नु पर्यो ।

उसले ८ औं मिनेटमा आशिष ठाकुरको पासमा सुमन फागोको गोलबाट अग्रता लिएको थियो । त्यसको १२ मिनेटपछि आशिष ठाकुरले उत्कृष्ट हेड गोल गर्दै खेलमा वडा नम्बर ५ लाई दुई शुन्यको अग्रता दिलाएका थिए । तर खेलको ३३ औं मिनेटमा पासाङ्ग लामाले गोल गर्दै अग्रता कम गरेभने पहिलो हाफको इन्जुरी समयमा कप्तान श्याम खत्रीले बराबरी गोल गरे ।

त्यसपछि खेलको ६५ औं मिनेटमा कुमार तामाङ्गले फ्रिकिक मार्फत दर्शनीय गोल गर्दै वडा नम्बर ४ लाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि अरुण ताजपुरीयाले गोल गरेसँगै खेल उसले ४–२ ले जित्यो ।  खेलको म्यान अफ दि म्याच वडा नम्बर ४ का पासाङ्ग लामा घोषित भए ।

वडा नम्बर ४ ले अब अन्तिम चार प्रबेशका लागि २४ गते वडा नम्बर १ र ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । वडा नम्बर १ र ११ बिहीबार आमने–सामने हुनेछन् । भोलि उपाधि दाबेदार वडा नम्बर ८ र ३ बीच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप–विजेताले नगद ४१ हजारसँगै ट्रफी हात पार्ने छन् ।

Facebook Comments Box

                     

अरुपनि