बिहीबार देखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं / ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँकाअनुसार अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली प्रवेश गर्ने देखिएको छ । यो प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले यसबारे प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गर्ने तयारी गरेको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ ।

बालीनालीमा नोक्सानी पुगेको छ । केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन ।

यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र पहाडी जिल्लामा लागेको कुहिरो बिस्तारै हट्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

Facebook Comments Box

                     

अरुपनि