अायाेगकाे निर्णय उत्कृष्ट : उपप्रधानमन्त्री पाेखरेल

काठमाडाै / उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताउनुभएको छ ।
माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौँ । ” उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फुटाउन खोजेको बताउँदै आफूहरूले कसैलाई कारबाही नगरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको निर्णयले प्रचण्ड–नेपाल समूहले गरेको निर्णयलाई गतल साबित गरेको बताउनुभयो । पोखरेलले कात्तिक २८ गते प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपपत्र फिर्ता र घोषित निर्वाचनमा भाग लिने भए तत्कालका लागि नेकपामा भएको विवाद समाधान हुने बताउनुभयो ।
पछिल्लो राजनीतिक परिस्थितिबारे जनतालाई वास्तविक जानकारी दिने उद्देश्यले नेकपा बागमती प्रदेश सङ्गठन कमिटीले माघ २३ गते काठमाडाँैमा जनसभा आयोजना गर्दै छ । पार्टीको ताजा धारणा सार्वजनिक गर्न काठमाडौंँमा जनसभा गर्न लागिएको हो । प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले माघ २३ गते जनसभा गर्न पार्टी नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले माघ २३ गते ठूलो सङ्ख्यामा काठमाडौँको जनसभामा सहभागिता हुनेछ भन्नुभयो । उहाँले सभ्य र व्यवस्थित जनसभा गरेर देखाइने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन, मर्यादित नारादेखि व्यवस्थित जनसभा गर्न दुई हजार कार्यकर्ता खटिने योजना सुनाउनुभयो । स्वयंसेवक व्यवस्थापनको नेतृत्व युवा सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष महेश बस्नेतले गर्नुहुनेछ । सो कमिटीमा माधव ढुङ्गेल, रमेश सिलवाल, रमेश पौडेल, ऐन महर, ओमकृष्ण प्रसाईलाई जिम्मेवारी तोकिएको छ ।
जनसभा सम्पन्न गराउन बागमती प्रदेशअन्तर्गतका नेकपाका केन्द्रीय सदस्य, राष्ट्रिय सभाका सदस्य, विघटित प्रतिनिधि सभाका सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सङ्गठन कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष तथा सचिव सदस्य रहने जनाइएको छ ।
जनसभामा बागमती प्रदेशका १३ जिल्ला र विशेष प्रदेश कमिटीका चार गरी १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा व्यापक जनपरिचालन गरिने संयोजक पोखरेलले बताउनुभयो । विशेष प्रदेशका १७ जिल्लामा माघ १४ भित्र ५०१ सदस्यीय जनसभा परिचालन कमिटी, माघ १७ भित्र सबै पालिकामा ३०१ सदस्यीय र वडा स्तरमा १०१ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिनेछ । जनसभाअघि माघ २१ गते मोटरसाइकल र्याली आयोजना गरिेने जनाइएको छ । सो र्यालीमा १० हजार सहभागी हुने दाबी गरिएको छ ।

Facebook Comments Box

                     

अरुपनि