देउसी-भैलोले बढाउन सक्छ कोरोना संक्रमणको जोखिम

काठमाडौं– तिहार हिन्दु धर्मावलम्बीको दसैंपछिको सबैभन्दा ठूलो पर्व हो। पिङ खेल्ने, दीपावली गर्ने र देउसी–भैलो खेल्ने तिहारको सबैभन्दा रोमाञ्चक पक्ष हो।

साथीभाइ एक ठाउँमा जमघट भई देउसी–भैलो खेल्नुको मजा नै बेग्लै छ। तर अहिले भेला भएर देउसी–भैलो खेल्ने, रमाइलो गर्ने अवस्था छैन। सावधानी नअपनाए देउसी–भैलो कोरोना फैलाउने माध्यमसमेत बन्न सक्छ।

मास्कको प्रयोग र सामाजिक दूरी कोरोनाबाट बच्ने उपायहरु हुन्। तर यी दुवै देउसी–भैलोमा कतै पनि लागू हुन सक्दैन। त्यसैले त बढ्दो कोरोना भाइरसको जोखिमका कारण तिहारमा रौनक मानिएको देउसी–भैलो निषेधाज्ञा गर्नु परेको छ।

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी–भैलो नखेल्न, नखेलाउन निर्देशनसमेत दिएको छ। विभिन्न जिल्लाले देउसी–भैलोलाई निषेधाज्ञा गरिरहेका छन्।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो नखेल्न र नखेलाउन भन्दै निषेधाज्ञा जारी गरेका छन्। योसँगै थुप्रै जिल्लाले तिहारमा देउसी–भैलोसहित मनोरञ्जनात्मक कार्यक्रमलाई निषेध गरेका छन्।

देउसी भैलो समूहमा खेलिने हुँदा कोरोनाको जोखिम धेरै हुने र संक्रमण फैलाउने माध्यम बन्न सक्ने चिकित्सकहरु बताउँछन्।

देउसी भैलोबाट कोरोना सर्ने जोखिम अत्यधिक हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। उनका अनुसार दसैंभन्दा तिहारमा कोरोनाको जोखिम बढी हुन्छ। उनी भन्छन्, ‘तिहारमा सबै जना जम्मा भएर गीत गाउने, देउसी–भैलो खेल्ने गर्छन्। समूहमा भेला हुन्छन्। त्यसैले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको जोखिम अत्यधिक हुन्छ।’

दसैं परिवारमा मात्र सीमित हुने भए पनि तिहारमा बढी जमघट तथा भेटघाट हुने भएकाले कोरोनाको जोखिम बढी हुने उनले बताए। धेरै मानिस एकै ठाउँमा भेला भएर गीत गाउँदा पनि कोरोना सर्ने उनले बताए। यो एक व्यक्तिबाट धेरैमा कोरोना फैलने माध्यम बन्न सक्ने भएकाले यसलाई सुपर सिप्रेडरको नामसमेत दिइएको उनी बताउँछन्।

‘तिहारमा एकै ठाउँमा धेरै मानिस भेला भएर गीत गाउने गर्छन्। यदि कोही व्यक्ति संक्रमित छ भने उसले कोरोना फैलाउने जोखिम हुन्छ। त्यसैले यसलाई सुपर सिप्रेडरको नाम दिइएको छ,’ उनले भने। तिहारमा जोखिम हुने भएकाले देउसी–भैलो नखेल्न डा पुन सुझाव दिन्छन्।

अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला तिहारमा देउसी–भैलो खेल्नै नहुने बताउँछन्। उनी भन्छन्, ‘देउसी–भैलो बिल्कुलै खेल्न हुँदैन, भीडभाड गर्नु हुँदैन।’

कोरोनाको सुरुवाती दिनमा होलीलाई निषेध गरिएजस्तै देउसी–भैलोलाई सबैले निषेध गर्नुपर्ने उनले बताए। डा बास्तोलाले भने, ‘जसरी हामीले सुरुवाती दिनमा होलीलाई निषेध गरेका थियौं। अहिले देउसी–भैलोलाई पनि निषेध गर्नुपर्छ।’

देउसी–भैलो खेल्दा आवाज निकालेर कराउने, गाउने, एकै ठाउँमा धेरै मानिस भेला हुने भएकाले कोरोनाको जोखिम धेरै हुने उनले बताए। देउसी–भैलो अहिलेको अवस्थामा कोरोना फैलाउने माध्यम मात्र बन्न सक्ने भन्दै सतर्क रहन उनी आग्रह गर्छन्।

‘देउसी–भैलो खेल्ने, भीडभाड गर्ने अहिलेको अवस्थामा कोरोना संक्रमण फैलाउने एउटा तरिका मात्र बन्न सक्छ,’ उनले भने, ‘त्यसैले देउसी–भैलो बन्द गर्न सुझाव दिन्छु।’

Facebook Comments Box

                     

अरुपनि