काेराेनाका कारण सुनसरीमा अाज एकै दिन ३ जनाकाे मृत्यु

धरान / सुनसरीका अाज एकै दिन कोरोना भाइरस (कोभिड-१९) बाट तीन जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोवेल मेडिकल कलेज विराटनगमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका एक/एक जना पुरुष रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको निधन भएको सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए ।

मृत्यु हुने दुबैमा मृगौला समबन्धी रोग रहेको उनको भनाइ छ ।  त्यस्तै धरान उपमहानगरपालिका–१२ का ५० वर्षीय पुरुषको पनि शुक्रबार उपचारका क्रममा निधन भएको छ । 

उनको नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । मृतकको दाहसंस्कारका लागि शव व्यवस्थापनको काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए। सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Facebook Comments Box

                     

अरुपनि