यस्तो छ देशभरका गत १२ महिनाको घरजग्गा कारोबार

काठमाडौं / गत आर्थिक बर्ष ०७७/७८ मा ललितपुरस्थित लगनखेल मालपोत कार्यालयले सबैभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । लगनखेल मालपोतले कुल ३ अर्ब ७ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन गरी पहिलो बनेको हो । ललितपुरबाट  रजिष्ट्रेसन दस्तुर वापत दुई अर्ब ९ करोड ७१ लाख र पुँजीगत लाभकर वापत ९६ करोड रुपैयाँ संकलन भएको छ ।  

गत वर्ष ललितपुरमा करीव ११ हजार घरजग्गा किनबेच भएका छन् । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरी १३१ वटा मालपोत कार्यालय छन् जसमध्ये १२६ वटा कार्यालयबाट मात्र कारोबार हुन्छ ।

गत वर्ष  सबैभन्दा बढी राजश्व संकलन गर्नेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुकै बर्चश्व देखिन्छ । काठमाडौं उपत्यकाभित्र ९ वटा मालपोत कार्यालय छन् जसमध्ये डिल्ली बजार मालपोतबाट २ अर्ब ५८ करोड, चावहिलबाट १ अर्ब ९४ करोड कलंकीबाट २ अर्ब २६ करोड, साँखुबाट १ अर्ब २९ करोड र भक्तपुरबाट १ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

ललितपुरको गोटीखेल, काठमाडौंको मनमैजु र टोखा मालपोत कार्यालयबाट राजश्व असुली अर्बभन्दा कम छ । विभागका अनुसार काठमाडौं उपत्यकामा ५६ हजार ७०६ घरजग्गा किनबेच भएका छन् भने १४ अर्ब ३३ करोड रुपैयाँ कुल राजश्व संकलन भएको छ ।

उपत्यका बाहिर कास्कीको मालपोत अगाडि 

अर्बभन्दा माथि राजश्व उठाउन काठमाडौं उपत्यका बाहिरको एउटामात्र मालपोत कार्यालय सफल भएको छ । मालपोत कार्यालय कास्कीबाट गत वर्ष १ अर्ब ३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

गत वर्ष अनलाइन प्रणाली लागू भइसकेका देशभरीका १०८ मालपोत कार्यालयबाट २० अर्ब ४६ करोड रुपैयाँ रजिष्ट्रेसन दस्तुर संकलन भयो । जबकी अघिल्लो वर्ष २३ अर्ब १८ करोड रजिष्ट्रेसन दस्तुर वापत राजश्व संकलन भएको थियो । लकडाउनका कारण तीन महिना समग्र कारोबार ठप्प हुँदा राजश्व संकलनमा धक्का पुगेको हो । 

यसअघिका आर्थिक वर्षहरुमा रजिष्ट्रेसन दस्तुरवात संकलन हुने राजश्व निरन्तर बढिरहेको थियो । (तलको इन्फोग्राफिक्समा हेर्नुहोस्)

जग्गा किनबेच घट्यो 
लकडाउनका कारण अढाई महिना कारोबार ठप्प भएपछि देशघर घरजग्गा किनबेच घटेको छ । गत आर्थिक वर्षमा अनलाइन प्रणाली लागू भएका १०८ मालपोत कार्यालयमा ४ लाख ५० हजार घरजग्गा किनबेच भएका छन् । अनलाइन प्रणाली लागू नभएका १८ मालपोतको समेत गर्दा करीव पौने तीन लाख हाराहारी घरजग्गा किनबेच भएको विभागका अधिकारी बताउँछन् ।

अघिल्लो आर्थिक वर्षमा साढे सात लाख घरजग्गा किनबेच भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवा दुई अर्ब घरजग्गा कम बिक्री भएका छन् ।

विभागको तथ्यांकअनुसार गत वर्षको साउन महिनामा देशभर ४८ हजार ६११ घरजग्गा किनबेच भयो भने भदौमा ४७ हजार ७१२, असोजमा ३६ हजार ३७४, कार्तिकमा ४२ हजार १९२, मंसिरमा ५३ हजार ३०१, पुसमा ५४ हजार ४९३, माघमा ५५ हजार ५९१, फागुनमा ५३ हजार २६४, चैतमा १७ हजार ९, जेठमा २४ र असारमा ४१ हजार ६५२ घरजग्गा किनबेच भएका छन् ।

११ चैतदेखि लकडाउन सुरु भएसँगै घरजग्गा किनबेच सुस्ताएको हो । लकडाउन सुरु भएपछि बन्द भएका मालपोत कार्यालय २५ जेठमा खुलेका थिए । बैशाख महिनामा देशभर एउटा पनि घरजग्गा किनबेच भएन । जेठ महिनामा देशका अधिकांश मालपोत कार्यालयमा घरजग्गा किबनेच नभए ताप्लेजुङमा ३, पाँचथरमा १, झापामा ३, संखुवासभामा १, भोजपुरमा १, सिराहामा १, सर्लाहीमा २, सिन्धुपाल्चोकामा ५, स्याङ्जामा १, रोल्पामा ३, सुर्खेतमा २ र दैलेखमा १ घरजग्गा किनबेच भएको थियो ।

काठमाडौं उपत्यकामा ६५ हजार घरजग्गा किनबेच

काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा गत वर्ष ५६ हजार ७०६ घरजग्गा किनबेच भएको छ । उपत्यकामा ९ वटा मालपोत कार्यालय छन् जहाँबाट साउनमा ७ हजार ३३९, भदौमा ७ हजार ३८४, असोजमा ५ हजार १९३, कार्तिक ५ हजार १५५, मंसिरमा ५ हजार ९५, पुसमा ६ हजार ९०४, माघमा ६ हजार ६५५, फागुनमा ५ हजार २५९, चैतमा १ हजार ९४५ र असारमा ५ हजार ७७७ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ । 

गत वर्ष उपत्यकाकाका मालपोत कार्यालयहरुमध्ये भक्तपुरमा सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ । भक्तपुर मालपोतबाट १२ हजार ७४९ घरजग्गा किनबेच भएका छन् । 

यस्तै, लगनखेलबाट १० हजार, ६२०, गोटीखेलमा ३०१, डिल्लीबजारमा २ हजार ६५९, चावाहिलमा ६ हजार २ सय, कलंकीमा १० हजार ७६९, साँखुमा ६ हजार २७० र मनमैजुमा ४ हजार ६७६ घरजग्गा किबनेच भएका छन् । 

काठमाडौं उपत्यकाबाट बागमती सभ्यता शुल्क भनेर १ अर्ब ३ करोड ७९ लाख रुपैयाँ उठेको छ । बागमती आसपासका जिल्लाका मालपोत कार्यालयहरुले बागमती सभ्यताको नाममा ०.५ प्रतिशत शुल्क उठाउँदै आइरहेका छन् ।

बागमती सभ्यता शुल्कवापत ललितपुरले २२ करोड, भक्तपुरले १४ करोड, डिल्लीबजारले १८ करोड, चावहिलले १६ करोड, कलंकीले १७ करोड, साँखु र मनमैजु मालपोत कार्यालयले ५/५ करोड उठाएका छन् । 

अनलाईन खबर बाट

Facebook Comments Box

                     

अरुपनि