अाजकाे तपाईंको राशिफल, कात्तिक २७ गते बुधबार

वि.सं.२०७६ साल कात्तिक २७ गते । बुधबार । इस्वी सन् २०१९ नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि प्रतिपदा,३३ घडी २१ पला,बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र कृतिका,४१ घडी २९ पला,बेलुकी १० बजेर ९९ मिनेट उप्रान्त रोहिणी । योग, वरियान १३ घडी ३९ पला,मध्यान्ह ११ बजेर ५१ मिनेट उप्रान्त परिधि । करण वालव,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त कौरव,बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि वृष । काठमाडौँमा सूर्योदय ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५८ पला । त्रिजटालाई अर्घ्य दिने दिवस। थानकोटमा महालक्ष्मी यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मान सम्मान तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ । शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाँचो पर्नेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदीबहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) विभिन्न कारणले कामहरू रोकिन सक्छ ध्यान दिनुहोला । व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा साझेदारी व्यवसायमा लगानी गर्नेहरूले ध्यान दिनुहोला साझेदारहरू बिच मनमुटाब सिर्जना हुनेछ । व्यावसायिक यात्रा हुने भए पनि बाटोमा दुख पाइने तथा अनावश्यक ठाउँमा खर्च हुनेछ । प्रेममा नचाहँदा नचाहँदै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गइनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आँटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागि हुनेछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ तथा बन्धुबान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आँट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाई लेखाइमा अरूभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरी कुराहरू गर्नु राम्रो हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि