मन्त्रीसहितको टोली ‘हैजा’प्रभावित परशुराममा, बिरामीको संख्या ८५ पुग्यो

डडेल्धुरा / डेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ । नगरपालिकाअन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर संचार माध्यममा आएपछि शुक्रबार मन्त्री बोहरासहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधिसहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। ‘अहिले अनुगमन भइरहेको छ, अनुगमनबाट केही न केही निष्कर्ष निकाल्ने छौँ’ उनले भने ।

बिरामीको संख्या ८५ पुग्यो

दुषित खानेपानीको कारण हैजा फैलिँदा ती तिन गाउँमा ८५ जना बिरामी परेका छन् । ती सबै बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले पुष्टि गरेका छन् ।

बिहीबारसम्म एकजना गर्भवती ७ बालबालिका र अन्य ७३ जना गरी ८१ जना हैजाबाट संक्रमित भएकोमा त्यो संख्या बढेर बिहीबार ८५ पुगेको उनले बताए । ‘गाउँबाट माथि रहेको मुहान दुषित भएकाले दुषित पानीबाट नै हैजा फैलिएको हो । पानीमा दिशामा पाइने ‘कोलीफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलीएको पाइएको छ’ उनले भने, ‘हैजा हो भन्ने पृष्टी भएकाले अहिले उपचार गर्दैछौँ । धेरैलाई उपचार गरेर घर पठाइसके अहिले अवस्था समान्य छ ।’

प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो। उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरिया भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए । विगत ९ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरीरहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाका उप-संयोजक हिक्मत धामीले जानकारी दिए ।

‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो । ‘हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौँ, स्वास्थ्यकर्मी पनि खटाएका छौँ’ उनले भने ।

Facebook Comments Box

                     

अरुपनि